संखुवासभामा पहिरोले ३ घर बगायो


किमाथांका — संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका उनले बताए ।

पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका निमित्त प्रहरी प्रमुख लामिछानेले बताए । उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् ।

खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए ।  चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ ।

जिल्लामा बाढी पहिरोले के–कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए । पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया