

चतुर चन्दको चतुर्याइँ- एक हप्ताअघि नै सुटुक्क क्यानडा पठाउन लगाएका थिए सन्दीपलाई

काठमाडाैं- नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले चतुर्याइँ गरेर एक हप्ताअघि नै सन्दीप लामिछानेलाई सुटुक्क क्यानडा पठाउन लगाएकाे खबर बाहिर आएको छ ।
नेपाल ट्युब अस्ट्रेलियासँग कुराकानी गर्दै चन्दले सन्दीप क्यानडामा नै बसेर एक हप्तादेखि अभ्यास गरिरहेको पनि जानकारी दिएका हुन् । ‘सन्दीप अफिसियल्ली हिजो मात्रै वेस्ट इन्डिज पुगेको हो । तर, एक हप्ता अगाडि नै उ नेपालबाट हिँडेको कसैलाई थाहा थिएन । टोरन्टोबाट वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुँदो रहेछ । क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन । त्यसैले उसलाई एक हप्ता अगाडि नै बोलाएर राखियो’ उनले भने ।
क्यानडामा सन्दीपलाई क्रिकेट एकेडेमीमा राखिएको थियो । त्यहाँ उनले नेपालका भुतपूर्व प्रशिक्षक पुबुदु दासानायकेकाे सहयाेगमा नियमित अभ्यास गरेको चन्दले जानकारी दिए । सन्दीपलाई क्यानडा पुगाउन पारस खड्का र विनोद दासलाई जिम्मा दिइएको उनले बताए । ‘विभिन्न अवरोध र बाधा अड्चन हुन्थ्यो भनेर हामीले उनलाई गोप्य रूपमा पुर्याएका हौँ । यसमा हामी सफल भएका छौँ ’ उनले भने ।

