अरुलाई बच्ने तरिका सिकाउन सेतीमा हामफाले, आफैं डुबेर अस्ताए सशस्त्रका जवान


काठमाडाैं- सोमबार जिल्ला विपद् व्यवस्थापन समिति बझाङले बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्नका लागि भन्दै सेती नदीमा कृत्रिम अभ्यास(सिमुलेशन)को आयोजना गरेको थियो । त्यसका लागि जिल्लास्थित नेपाली सेना, शसस्त्र प्रहरी बल र प्रहरीका अधिकारीहरुसहित जवानले संयुक्त रुपमा नदीमा अभ्यास गरेर देखाउने कार्यतालिका तय भएको थियो ।

प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलसमेत सहभागी रहेका अभ्यास कार्यक्रममा नजिकैका विद्यालय तथा क्याम्पसका विद्यार्थी र स्थानीय गरि करिब ५ सय जना नदी किनारमा पुगेका थिए । बिहान ९ः३० बजे सेती नदीको भोपुर दरबार तथा चैनपुर साना शहरी खानेपानी आयोजनाको ट्यांकी नजिक भइरहेका उक्त अभ्यास सुरु भएको केही मिनेट मात्रै भएको थियो । एक्कासी भिडमा कोलाहल मच्चिन थाल्यो ।

अभ्यासका क्रममा एक सशस्त्रका जवान डुबेको भन्ने हल्ला भएको मात्रै के थियो, नदीबाट स्टेचरमा हालेर केही जवानले डुबेका व्यक्तिलाई नजिकै रहेको आकस्मिक उपचार केन्द्रमा लगे । उक्त घटनालाई प्रत्यक्ष देखेका बझाङका पत्रकार रुपक खड्काका अनुसार सिमुलेशन सुरु भएको केही समयमै उनी डुबेका थिए ।

‘नदीमा डुबे कसरी बच्ने भनेर अभ्यास सुरु मात्रै भएको थियो । अचानक एक जवान डुबे । सुरुमा त उनी जानीजानी डुबेको नाटक गरेर सबैलाई देखाउन लागेको भन्ने लाग्यो । तर हलचल नै नगर्ने अवस्था आएपछि अन्य जवानले उनीलाई नदीबाट निकाले’ उनी भन्छन्, ‘नदीबाट उद्धार गरेर निकाल्दा ती जवानको शरीर रंङ्ग पहेँलो फर्किसकेको थियो ।’

नदीमा डुबेका जवान बझाङकै केदारस्युँ गाउँपालिका–७ खिकीरीका २९ वर्षीय नरेन्द्रसिंह धामी थिए । बेहोस अवस्थामा उद्धार गरेपछि उनलाई उपचारका लागि जिल्ला अस्पतालमा पुगाइएको थियो ।

तर, पुगेको केही बेरमै चिकित्सकले उनीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

मृतक धामी विपद व्यवस्थापन सम्बन्धी तालिम प्राप्त व्यक्ति भएको प्रहरीले जनाएको छ । विवाहित रहेका मृतक नरेन्द्रका दुईवटा छोरा छन् ।

प्रतिक्रिया