जीविका चलाउन बझाङबाट भारत गएको परिवार नै जलेर सकियो


बझाङ- भारतको बेङ्लोरमा खाना पकाउने ग्याँस विस्फोट हुँदा जलेर घाइते भएका बझाङका एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त विस्फोटमा परि घाइते भएका जयपृथ्वी नगरपालिका-११ सुइलका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरु अनिता र निताको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।

गत बुधबार राति ११ बजेतिर झ्याल नभएको कोठामा बसिरहेका उनीहरुको कोठामा ग्याँस लिक भएको र सलाई कोर्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए । घटना लगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।

पाँचै जनाको उपचारको क्रममा मृत्यु भएको हो । प्रेमजलाको शनिबार साँझ मृत्यु भएको थियो भने उनका छोरीहरुको त्यसअघि नै मृत्यु भइसकेको थियो । मदन र उनका छोराको गएराति उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

न्यून आर्थिक अवस्था भएका का ३२ वर्षीय मदन गाउँमा जीविका चलाउन गाह्रो भएपछि विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए ।

 

प्रतिक्रिया