टी-२० विश्वकपः ओमानले दियो नामिबियालाई १ सय १० रनको लक्ष्य


काठमाडौं – आईसीसी टी-२० क्रिकेट अन्तरगतको जारी खेलमा ओमानले नामिबियालाई १ सय १० रनको मध्यम लक्ष्य दिएको छ।  किङ्सटन ओभल बार्बाडोसमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको ओमानले १९ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो।

खराब सुरुवात गरेको ओमानले पहिलो बलमै कस्यप प्रजापतिलाई गुमाएको थियो। दोस्रो बलमा  अकिव इलियासलाई गुमाउन पुग्यो। १० रन बनाउँदा ३ विकेट गुमाएको ओमान दबाबमा आयो। ३७ रन बनाउँदा ४ विकेट गुमाएको ओमानका लागि खालिद कैल र जिसद मक्सुदले पालीलाई केही उकासेका थिए।

कैलले ३४ रन र मक्सुदले २२ रन जोडे। आयन खानले १५ र सकिल अहमदले ११ रन बनाए। ती बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

नामिबियाका रुवेन ट्रम्पेलम्यानले चार विकेट लिए। डेभिड वाइजको नाममा तीन विकेट रह्यो। जेराड इरामुसले २ विकेट लिँदा बेनार्ड स्कल्टको नाममा एक विकेट रह्यो।

प्रतियोगिता अन्तरगत आजै श्रीलंका र दक्षिण अफ्रिका भिड्नेछन्।

 

प्रतिक्रिया