पूर्वमन्त्री जोशीको भ्रष्टाचार मुद्दामा सर्वोच्चले साउन १३ मा फैसला सुनाउने


काठमाडौं – सर्वोच्च अदालतले पूर्वमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा आउँदो साउन १३ गते फैसला सुनाउने भएको छ । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेर १३ साउनमा फैसला सुनाउने मिति तय गरेको हो । त्यसअघि २१ असारसम्म बहस नोट पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो । विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका हुन् ।

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । जोशीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो ।

विशेषको फैसलाविरुद्धको मुद्दा २०६९ फागुन ६ मा सर्वोच्च पुगेको थियो । जोशी र अख्तियार दुवै पक्षले सर्वोच्चमा पुनरावेदन गरेका छन् । विशेषले तोकेको सजाय अपुग रहेको भन्दै अख्तियारले बढी सजाय माग गरेको छ भने जोशीले सफाइ पाउनुपर्ने जिकिर गरेका छन् ।

 

प्रतिक्रिया