भैंसी चराउन गएका कालेले गुमाए हात्तीको आक्रमणबाट ज्यान


हेटौंडा — मकवानपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका –६ स्थित चितवन राष्ट्रिय निकुन्जको जंगलमा सोही वडाको प्रतापपुरका ५६ वर्षीय कालेबहादुर राईको मृत्यु भएको हो  ।

उनीसहित ३ जना निकुञ्जमा भैँसी चराउन गएको अवस्थामा हात्तीले आक्रमण गर्दा राईको बिहीवार मृत्यु भएको प्रहरीले जनाएको छ । राईसँगै गोठालो गएका दुई जना भाग्न सफल भएका थिए ।

भागेर ज्यान बचाउन सफल भएका दुई जनाले निकुन्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको नयाँ सबुज गण बंकर पोष्ट सुनाचुरी मकवानपुरमा जानकारी गराएका थिए ।

सेनाले शुक्रबार प्रहरीलाई जानकारी दिएको हो । हात्तीको आक्रमणबाट मकवानपुरमा चालु आर्थिक वर्षको ११ महिनामा ४ जनाको मृत्यु भइसकेको छ । यो अवधिमा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

हात्तीले ११ महिनामा मकवानपुरमा नौ वटा घर गोठमा क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया