अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि राष्ट्रपतिका सल्लाहकारको राजीनामा


काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।

नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनी  नेपाल सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि गरेको टिप्पणीका कारण विवादमा परेका थिए ।

‘देश सञ्चार’ लाई गत २३ वैशाखमा दिएको अन्तर्वार्तामा नेपालले भनेका थिए, ‘सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ । भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो ।’

उनले गरेको टिप्पणीप्रति राष्ट्रपति असन्तुष्ट बनेको बताइएको थियो ।

प्रतिक्रिया