

दम्पतीलाई करेन्ट लाग्यो, पत्नीको मृत्यु

सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिका–९, रामनगरमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।
रामनगरका राम महतोकी श्रीमती २८ वर्षीया कुसुमदेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो । चुँडिएर भुईँमा लत्रिएको वाइफाइको तार उठाउन खोज्दा सुरुमा श्रीमान् ३४ वर्षीय रामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
श्रीमानलाई करेन्ट लागेपछि तार छुटाउन खोज्दा श्रीमती कुसुमदेवीलाई समेत करेन्ट लागेको स्थानीयले बताएका छन् । दुवै जनालाई तत्कालै उद्धार गरी श्रीमान् रामलाई अमृत हेल्थ केयर बयलवास र श्रीमती कुसुमदेवीलाई सिद्धि विनायक अस्पताल बर्दिबास पुर्याइएको थियो ।
कुसुमदेवीलाई बर्दिबास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए भने श्रीमान् रामको भने बयलवासमा उपचार जारी छ ।

