जसपालाई निर्वाचन आयोगले दियो नयाँ दलकाे मान्यता


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन गर्दै अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ । आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले नयाँ दललाई दर्ता गर्ने निर्णय भएको जानकारी दिए ।

राईसहित प्रतिनिधि सभाका सात सांसदले दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार नै दलले मान्यता पाएको पाण्डेले बताएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको उनले जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ र प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने सर्तमा दल दर्ता गरिएको पाण्डेको भनाइ छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपधारा (२) मा कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउन सक्ने र त्यसो गर्दा साविकको दलको नियन्त्रण नरहने व्यवस्था छ ।

तर, २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएर केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत मात्र सदस्य भएर पनि दल विभाजन गर्न पाउने व्यवस्था गरेको थियो । एमाले र जसपा फुटेपछि उक्त अध्यादेश फिर्ता लिइएको थियो । अध्यादेश फिर्ता लिइसकेपछि पुरानै व्यवस्था जगाउने वा नयाँ व्यवस्था प्रतिस्थापन गर्नुपर्ने प्रक्रिया भने पूरा गरिएको छैन ।

प्रतिक्रिया