शनिबार साधु सन्तको बिदाइ, १सयदेखि रु १५ हजारसम्म दक्षिणा


काठमाडौं – महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई शनिबार दक्षिणासहित बिदाइ गरिने भएको छ ।

शनिबार बिहान ९ बजेदेखि साधुसन्त बिदाइको कार्यक्रम राखिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । यस वर्ष कोषले रु १०० देखि रु १५ हजारसम्म दक्षिणा दिएर साधुसन्त बिदाइ गर्ने तयारी गरेको छ ।

साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिने कोषले जनाएको छ । यसैगरी गुठी संस्थानले पनि साधुसन्तलाई दक्षिणा एवं फाल्गुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरिएको सामग्री दिएर बिदाइ गरिन्छ ।

फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने विधि छ । साधुसन्तको बिदाइ नभएकाले पशुपति क्षेत्रमा आज पनि भक्तजनको चहलपहल छ । महाशिवरात्रिका अवसरमा बिहीबार मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न नपाएका भक्तजन आज बिहानदेखि भीड लागेको कोषले जनाएको छ ।

 

प्रतिक्रिया