थाइल्यान्डका हात्ती ट्रकमा चढ्दा नेपाली ‘सेन्टी’, खगेन्द्र र रुद्रकली चितवनमै


काठमाडौं- हिजोबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडियो सामाजिक संजालमा भाइरल छ ।  चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्ती खगेन्द्र र रुद्रकलीलाई कतार लैजाँदै भनेर भावुक गीत, धुन र ‘क्याप्सन’ लेखिएका ती भिडियो तपाईंले पनि देख्नु भएको होला । नेपाली कांग्रेसका महासमिति सदस्य सुरेन्द्र सिंह ऎरले पनि ‘रुद्रकली र खगेन्द्र ट्रक चढेर एयरपोर्ट जाँदै कतार जान’ भन्दै लेखेर उक्त भिडियो सेयर गरेका छन् ।

उनी जस्तै धेरैले उक्त भिडियो धेरैले सेयर गर्दा भाइरल बनेको छ । ती भाइरल भिडियोमा भावुक बनेका नेपालीहरुले भावुक कमेन्ट गर्दै सरकारको बिरोध पनि गरेका छन् । तर, उक्त भिडियो नेपालकै हो त ?

होइन, मार्च २८ अर्थात गत चैत १५ गते थाइल्यान्डको एक फेसबुक पेजले उक्त भिडियो पहिलोपटक हालेको देखिन्छ  । भिडियोमा देखाइएका ती तालिमप्राप्त हात्तीलाई ट्रकमा अन्य स्थानमा लगेको देखिन्छ ।

तर, नेपाली होनि ! एउटाले केही भनेपछि कुनै तथ्य जाँच नगरी सबै त्यसकोपछि दौडिन्छन् ।

कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्तीलाई कतै पठाइएकै छैन । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो ।  पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भए पनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँगै ती हात्ती गएका छैनन् ।

ती खगेन्द्र र रुद्रकली नामका हात्ती निकुञ्जभित्रनै रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

हेरौं उक्त साँचो भिडियो: 

 

 

 

प्रतिक्रिया