कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा


काठमाडाैं- नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।

निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरूङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको थियो ।

सर्वोच्चको आदेश कार्यान्वयन गर्न लागिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सर्वोच्चको आदेश कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।

श्रममन्त्री हुँदाको एक मुद्दालाई आधार मानेर उनीविरुद्ध अख्तियारले २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उनीविरुद्धको मुद्दा विचाराधीन भएकाले उक्त मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि अख्तियारले २०७९ पुस ८ गते पत्राचार गरेको थियाे । अख्तियारको पत्र अनुसार सङ्घीय संसद सचिवालयले उनको पद गत पुस १२ गते निलम्बन गरेको थियो ।

सर्वोच्च अदालतले सांसद पदको निलम्बन फुकुवा गर्न चैत १६ गते आदेश दिएको थियाे ।

प्रतिक्रिया