

जडीबुटी उद्योगमा आगलागी

नेपालगञ्ज– बाँकेको पिप्रहवामा रहेको बाहुबली जडीबुटी उद्योगमा आगलागी भएको छ।
बिहीबार बिहान ७.१५ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन। जानकी गाउँपालिका-६ पिप्रहवामा रहेको राजेश जैनको जडीबुटी उद्योगमा विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ ।
आगो निभाउन नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका दमकल आएको छ । बर्दियाको गुलरिया नगरपालिका र बाँसगढी नगरपालिकाको दमकल मगाइएको छ ।
उद्योगको परिसरमा रहेको काठमा आगो दन्किएको छ । उद्योगभित्र आगो पुगिसकेको छैन । उद्योगभित्र पुगेमा अझ ठूलो क्षति हुने भएकाले आसपासबाट दमकल मगाइएको छ ।
आगलागी नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खटेको छ । स्थानीय पनि आगलागी नियन्त्रणमा जुटिरहेका छ्न् ।

