
उपनिर्वाचन : सामाजिक सञ्जाल इकाई गठन गर्दै आयोग
काठमाडौँ – आसन्न उपनिर्वाचनमा आचारसंहिता उल्लङ्घन भए तत्काल कारबाही गर्न निर्वाचन आयोगले एक सामाजिक सञ्जाल इकाई गठन गर्ने भएको छ ।
इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, को प्रतिनिधि सभा सदस्यको रिक्त पदमा र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं। १ को प्रदेश सभा सदस्यको रिक्त पदमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
निर्वाचन आचारसंहिता गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म लागू भइसकेको छ । सामाजिक सञ्जालबाट आचारसंहिता उल्लङ्घन सम्बन्धी कुनै सूचना वा जानकारी कुनै माध्यमबाट प्राप्त भएमा स्पष्टीकरण माग गर्ने, उक्त कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लङ्घनकर्तालाई आवश्यक कारबाहीको लागि आयोग समक्ष सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन इकाई गठन गरिने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा निर्वाचन आचारसंहिता उल्लङ्घनकर्तालाई तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन आयोगको भनाई छ ।
त्यस्तै आमसञ्चार माध्यमबाट हुने गलत, भ्रामक, झुटा सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा निर्वाचनलाई नकारात्मक प्रभाव पर्ने समाचारलाई निरुत्साहित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित सञ्चार माध्यमको अनुगमन तथा कानुन बमोजिम आवश्यक कारबाहीको लागि प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने पौडेलको भनाई छ ।



कागजपत्र |
