

रामेछापबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना, तीन घाइते, एकको अवस्था गम्भीर

काठमाडौं — रामेछापबाट काठमाडौं आउँदै गरेको टाटासुमो खाँडादेवीको भदौरेमा दुर्घटना हुँदा तीन यात्रु घाइते भएका छन् ।
रामेछापको खाँडादेवी – ९ पिङखुरीबाट आइतबार बिहान काठमाडौं आउँदै गरेको ना.१ज ५६२६ नम्बरको टाटासुमो अनियन्त्रित भई सडकवाट करिब ३५ मिटर तल भिरमा खसेको जनाइएको छ ।
घाइते हुनेहरूमा २४ वर्षीय दीपेन्द्र भण्डारी, १६ वर्षीया एलिसा भण्डारी र १४ वर्षीया यमुना भण्डारी रहेका छन् । घाइतेमध्ये दीपेन्द्र भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि ललितपुरको बी एन्ड बी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घटनापछि गाडीचालक विष्णु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे प्रहरीेले थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

