दुई समुदायबीचको झडपले भुटाहा तनावग्रस्त, पाँच स्थानीय तहमा कर्फ्यु


सुनसरी – सुनसरी प्रशासनले जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार मध्यान्ह १२ बजेदेखि हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडा नम्बर १ र ७ मा निशेधाज्ञा जारी गरेको थियो । तर स्थिति नियन्त्रणमा लिन समस्या भएपछि अहिले साँझ ५ बजेदेखि पाँच स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी सम्भावित क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न हरिनगर, देवानगञ्ज, कोशी, भेक्राह नरसिंह र सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको कामु प्रमुख जिल्ला अधिकारी बेदराज फुयालले जानकारी दिए ।

हरिनगर क्षेत्रमा कर्फ्यु लगाइए पनि स्थानीयले प्रदर्शन नरोकेपछि बिहानैबाट स्थिति तनावग्रस्त बनेको थियो । त्यहाँको अवस्था अझै पनि सामान्य बन्न सकेको छैन । हरिनगरको मुख्य बजार भुटाह बिहानैबाट तनावग्रस्त बनेको छ । कर्फ्युका क्रममा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक आवत जावत गर्न, भेला हुन र सामुहिक रुपमा गरिने कुनै पनि कार्यक्रम नगर्न प्रशासनले आग्रह गरेको छ । यदि आदेश उल्लंघन गरेको पाइएमा कानून बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ । शुक्रबार मध्यान्न १२ बजेबाट अर्को सुचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिकाको सबै वडा र देवानगञ्जको १ र ७ नम्बर वडामा निषेधाज्ञा जारी भएको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।

सो क्रममा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको बिराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिहीबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका-१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायका बीचमा तनाव बढेको हो ।

बिहीबार साँझ स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । घाइते मेहता धरानमा उपचाररत छन् । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको विरोधमा आज बिहानैबाट प्रदर्शन चर्काएका थिए ।

प्रतिक्रिया