

सुन तस्करी प्रकरण: बयानका क्रममा भक्कानिए महरा

काठमाडौंँ – सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादीको उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महराले आज सरकारी वकिलको कार्यालयमा बयान दिएका छन् ।
उनी चैत ५ मा रुपन्देहीबाट पक्राउ परेका महरा अहिले केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरासँग बयान लिइरहेको छ । स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरुले बुधबारबाट जिल्ला सरकारी वकिल कार्यालयमा ल्याएर बयान लिएका हुन् ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरुले उनलाई प्रश्न गरेका छन् ।
भेप प्रकरणमा बयान दिँदा महरा भक्कानिएका छन् । ‘बयानको क्रममा उहाँ भक्कानिनु भयो, अनुसन्धानमा संलग्न एक जना अधिकृतले सुनाए । महरा ८ प्रकारका औषधी सेवन गर्छन् । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो ।
आयोगको प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष महरालाई अनुसन्धान गरेर ‘पुरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिने सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । ‘भेप’ मा लुकाएर सुन तस्करी गरेको घटनामा पूर्व सभामुख कृष्णबहादुर महराको ‘कनेक्सन’ देखिएको छ ।

