

लाइटर बोकेर कैलाली छिरेका ट्रकमा कसरी लाग्यो आगो ?

काठमाडौं– एक हप्ताकै दौरानमा कैलाली प्रवेश गरेका दुईवटा ट्रकमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । ट्रकमा लोड भएका सामानमा मात्रै नभएर एउटा ट्रकको आगोले चिसापानीस्थित कर्णाली पुलमै क्षति गरेको थियो । जसको मर्मत हालसम्म पनि भइरहेको छ । पुलमै क्षति भएका कारण हाल उक्त मार्गबाट आवागमन अवरुद्ध हुँदा चिसापानीका ५ सयभन्दा व्यवापारीको व्यापार ठप्प बनेको छ ।
सुदूरपश्चिम प्रदेशलाई जोड्ने चिसापानीस्थित कर्णाली पुलमा सोमबार अपह्रान्न विरगञ्जबाट महेन्द्रनगरतर्फ आइरहेको ना५ख ५२९७ नम्बरको ट्रकमाथि एक्कासी आगलागी भएको थियो । लाइटर बोकेको ट्रकमा लागेको आगो डेढ घण्टापछि दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । उक्त आगलागीबाट एक करोड १६ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।
ट्रकमा लागेको आगो पुलका केबलहरुमा समेत सल्किएपछि सवारी साधन आवागमनलाई बन्द गराएर सडक विभाग र पुल महाशाखाबाट आएको प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा अध्ययन गरिरहेको छ ।
पुल महाशाखाका डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले प्रारम्भिक अध्ययनका क्रममा आगालागीबाट पुलका दायाबाँया तर्फका ७–७ केबल जलेको पाइएको बताएका छन् । सोही आगोको लप्काले पुलका फलामे केबलमा समातेपछि जलेका थिए । फलामे केबलको बाहिरपट्टी रबर रहेकाले आगलागी भएको प्राविधिकको भनाई छ ।
जलेका केबलसहित पुलको सतहको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले अझै केही दिन सवारी साधन चलाउन नमिल्ने अधिकारीले जानकारी दिए । अहिले सुदूरपश्चिम भित्रिने र छुट्ने सवारी साधन वैकल्पिक बाटोको प्रयोग गरेर हुलाकी राजमार्गमार्फत चलिरहेका छन् ।
त्यस्तै घटना शनिबार पनि दोहोरिएको छ । वीरगञ्जबाट धनगढी जाँदै गरेको प्रदेश ३–०३–००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको थियो । शनिबार दिउँसो ३ बजेतिर जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मुडा बजारनजिक गुड्दागुड्दै गरेको ट्रकमा आगो लागेको हो । ट्रकमा लाइटर, खुर्सानी, डाइपर र औषधी रहेका थिए । उक्त ट्रकमा पनि लाइटरकै कारण आगलागी भएको प्रहरीको अनुमान छ । आगोले ट्रकको अगाडीको भाग जलेको थियो भने झण्डै १० प्रतिशत सामान जलेर नष्ट भएको थियो । ट्रक जल्दा करिब एक करोड १२ लाख ९३ हजार ९१ रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको अनुमान छ ।
यी दुवै घटनामा जलेका ट्रकले लाइटर बोकेका थिए । दुवै घटनामा लाइटरबाटै आगो सल्किएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । तर, यहाँनिर प्रश्न आउँछ शिलप्याक लाइटरबाट आगो सल्किनसक्छ र ?
आगो नियन्त्रण सम्बन्धी विज्ञ किशोर भट्टराई भने सुरक्षित विधि नअपनाएर ग्यास भरिएको लाइटरजस्तै प्रज्वलनशिल पदार्थ ओसारपसार गर्दा आगलागी हुने बताउँछन् ।
‘हवाइजहाजमा लाइटरजस्ता ग्यास कम्प्रेस गरिएको, झिल्का उत्पन्न हुने ब्याट्री र लाइटर बोक्न पाइँदैन । यस्ता चिजहरु सवारीसाधनमा पनि बोकेर जाँदा विभिन्न कारणले आगलागी निम्तिन सक्छ’ उनले भने, ‘खतराजन्य पदार्थ ट्रान्सपोट्रिङ गर्दा विभिन्न विधि तथा प्रक्रियाबाट गर्नुपर्छ ।’
उनका अनुसार वातावरणीय प्रभाव(तापक्रम वृद्धि), कतै थिच्चिएर र कुनै लाइटरमा लिकेज हुँदा झिल्को उठ्दा आगो टिप्न सक्छ । कैलाली तराईं क्षेत्रमा भएकाले बढ्दो तापक्रमका कारण कुनै लाइटर आफैं पड्केर आगलागी भएको हुनसक्ने भट्टराई बताउँछन् ।

