

विनाजानकारी गैरहाजिर हुने तीन शिक्षकलाई स्पष्टीकरण

काठमाडौं- लामो समयदेखि विनाजानकारी गैरहाजिर गण्डकी, म्याग्दी र गोरखाका तीन शिक्षकलाई शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशलेले स्पष्टीकरण सोधेको छ । निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै ती शिक्षकलाई स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।
जनजागृति आवासीय विद्यालय कास्कीकी प्राथमिक तृतीय श्रेणीकी शिक्षिका मञ्जु जोशी, महादेव मावि, म्याग्दीकी निमावि तृतीय शिक्षिका तारादेवी गर्बुजा र गंगा जमुना आवासीय विद्यालय, गोरखाका प्रावि तृतीय शिक्षक सुजन गुरुङलाई स्पष्टीकरण माग गरिएकाे हाे ।
विनासूचना लामो समयदेखि अनुपस्थित रहेको व्यहोरा उल्लेख गर्दै शिक्षा विकास तथा समन्वय एकाइबाट कारबाहीको सिफारिस भई आएकाले सातदिने स्पष्टीकरण सोधिएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले बाटोको म्यादबाहेक सात दिनभित्र चित्तबुझ्दो कारणसहित लिखित स्पष्टीकरण लिएर कार्यालयमा आउन भनेको छ । अन्यथा शिक्षा ऐन, २०२८ को १६(ङ) उपदफा ५ को खण्ड (ग) तथा शिक्षा नियमावली २०५९ को दफा १३८ बमोजिम कारबाही हुने उसको चेतावनी छ ।
ऐनमा कुनै पनि शिक्षक कर्मचारी विना जानकारी ९० दिनभन्दा बढी गैरहाजिर रहेका सेवाबाट हटाउन सकिने प्रावधान छ ।

