विमानस्थल बनाउनभन्दा चलाउन कठिन : मन्त्री किराती


गाईघाट-  संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम तत्काल अगाडि बढाउने बताएका छन् । उदयपुरको त्रियुगा नगरपालिका –२ जोगिदहस्थित विमानस्थल निर्माण क्षेत्रको शुक्रवार स्थलगत निरीक्षण गर्दै मन्त्री किरातीले सो कुरा बताएका छन् ।

उदयपुरमा सगरमाथा विमानस्थल निर्माणका लागि भनेर त्रियुगा नगरपालिका –१ र २ को जोगिदहस्थित कङ्ग र मोथियाही सामुदायिक वनको करिव १४ हजार सखुवाका रुखहरु कटान गरेर धावनमार्ग निर्माण गर्ने क्षेत्रको जग्गा खाली गरिएको छ । बजेट अभावले निर्माणको काम प्रभावित भइरहेको अवस्थामा मन्त्री किरातीले कार्यक्रम स्थलबाटै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई निर्माणसम्बन्धि प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

मन्त्री किरातीले नेपाल सरकारले आर्थिक वर्ष २०८०–८१ मा सो विमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि कुनै पनि शिर्षकमा रकम विनियोजन नगरेको तर नागरिक उड्ययन प्राधिकरणमार्फत आफूले विमानस्थलको निर्माणसम्बन्धि कामलाई निरन्तरता दिन पाँच करोड रकम ब्यवस्था गरेको बताए ।

सो रकमबाट कटान गरिएका रुखको जरा उखेल्ने, खोल्सि ब्यवस्थापन गर्ने र पुगेसम्म घेरवार गर्ने कार्य गर्न सकिने उनले बताए । यद्यपि मन्त्री किरातीले सीमित स्रोत साधनको कारण हाम्रोजस्तो मुलुकमा विमानस्थल निर्माण गर्न भनेजस्तो सजिलो नभएको र बनाउनभन्दा सञ्चालन गर्न समस्या हुँदैआएको बताए ।

नेपालमा अन्य अरु २२ वटा विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालन गर्न नसकिएको नजिर प्रस्तुत गर्दै मन्त्री किरातीले उदयपुर र भोजपुर खोटाङका केही ठाउँका स्थानीयलाई लक्षित गरी मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने भएकाले क्रसबोर्डर फ्लाइट र माउन्टेन फ्लाइट गर्न सकियो भने यो विमानस्थल राम्ररी सञ्चालन गर्न सकिने बताए ।

 

प्रतिक्रिया