इजरायलले युद्धविरामका लागि हमासले राखेको सर्त नमान्ने


एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामका लागि लडाकु समूह हमासले राखेका सर्त अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री नेतान्याहुले एक महिनाभित्रै गाजामा पूर्ण विजय हासिल गर्ने भएकाले हमासको प्रस्तावित युद्धविराम स्वीकार नगर्ने बताउनु भएको हो । युद्धविराम प्रस्तावको जवाफमा हमासले शृङ्खलाबद्ध माग राखेपछि इजरायल लचिलो नहुने भएको बीबीसीले जनाएको छ ।

नेतान्याहुले हमासका सर्तहरू अनौठा र न्यायसंगत नभएको टिप्पणी गरेका छन् । उनले गाजामा अन्तिम विजय हासिल गर्नु बाहेक अर्को समाधान नरहेको बताउनुभएको खबरमा उल्लेख छ । इजिप्ट र कतारको मध्यस्थतामा नयाँ चरणको वार्ता आज कायरोमा हुने सम्भावना थियो । तर दुवै पक्ष युद्धविरामका लागि लचिलो नदेखिएको भन्दै इजिप्टले सबै पक्षलाई विना सर्त शान्ति सम्झौतामा पुग्न लचिलो हुन आह्वान गरेको छ।

यसअघि इजरायल–गाजा युद्धविराम योजनाबारे हमासले सकारात्मक प्रतिक्रिया दिएर गाजाको पुनर्निर्माण, त्यहाँका बासिन्दाहरूलाई उनीहरूको घरमा फिर्ता गर्ने र विस्थापितहरुको लागि भएका प्रावधानहरुमा केही संशोधन गरेर घाइतेको आवश्यक उपचार गर्नु पर्ने सर्त राखेको थियो ।

प्रतिक्रिया