


दुधेबालकसहित स्वास्थ्य चौकी हिँडेकी यमुना मृत भेटिइन्

काठमाडाैं- यमुना भुर्तेल चापागार्ई हिजो(आइतबार) आफ्नो २५ दिनको बालकसहित घरबाट निस्केकी थिइन् । पाँचथरको याङवरक गाउँपालिका गणेश चोक छेउ ढाँडगाउँ बस्ने उनी बालकलाई खोप लगाउन भन्दै घरबाट निस्केकी थिइन् ।
‘हिजो बिहान ११ बजेतिर घरबाट परेवाडाँडा स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन घरबाट हिँडेकी रहिछन् । बेलुका नाङखोल्याङको सेसम्बुमा एकजना आमाले भेटाउनु भएको रहेछ, तर माइतीघरसम्म आइपुगिनन्’ यमुनाका बुवा जय भुर्तेलले भने । उनको माइती घर आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी चोकपुर हो ।
आज(सोमबार) भने उनको शव आठराई त्रिवेणी गाउँपालिका–२ माटेको तमोर नदी किनारमा फेला परेको छ । शिशुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताएका छन् ।
उनले बोक्ने मोबाइल र लगाएको केही कपडा भने आइतबार तमोर नदी किनारमा भेटिएको थियो । त्यसैको आधारमा प्रहरीसहित स्थानीयले नदी किनारमा खोजी गरेका थिए ।

