


अरुलाई साइप्रस पठाउने भनेर लाखौं असुलेकी रमिला आफैं उडिन्

काठमाडौं– धादिङका दिनेश परियार ड्राइभिङ पेशा गर्छन् । दिनरात मेहनत गरेर पनि सोचेजस्तो आम्दानी नभएपछि उनले केही समयअघि विदेश जाने निधो गरे । उनले खाडी मुलुक जाने योजना बनाएका थिए ।
त्यहिबेला रमिला महर्जन आचार्यले उनलाई युरोपको सपना देखाइन् । त्यहाँ राम्रै कमाई हुने रमिलाका चिल्ला गफपछि दिनेशले एक आफन्तलाई पनि उक्त कुरा बताए । आफन्त पनि उनको कुरामा सहमत भए ।
त्यसपछि दुवैको तर्फबाट एक लाख ८० हजार दिनेशले रमिलालाई बुझाए । तर, रकम बुझेपछि रमिलो फरार छिन् । परियारको आफ्नो रकम त डुब्यो नै आफन्तको समेत ऋण लिएर बुझाएको रकम डुब्यो । ‘हामी खाडी मुलक जान लागेको मान्छेलाई भाई त्यहाँ नजाउ अरु मेनपावरभन्दा सस्तोमा साइप्रस पठाइदिन्छु भनिन्’ उनी भन्छन्, ‘उता गएपछि पेट्रोल पम्प, फूड प्याकिङ जस्ता काम गर्न पाइने र त्यसबाट राम्रै कमाइ हुने भनेर उनले झुक्काएर पैसा मागिन् । अहिले सम्पर्कविहीन भएकी छिन् ।’
यस्तै पीडा धादिङकै मनकुमारी दमाईको पनि छ । रमिलाकै विश्वासमा परेर उनले पनि ६ जनालाई साइप्रस जान राजी बनाएकी थिइन् । मनकुमारीले उनीहरुबाट संकलित तीन लाख रुपैयाँ रमिलाको खातामा ट्रान्सफर पनि गरिदिइन् । तर, रमिलाले बेइमानी गरेपछि उनी आफैँ फसेकी छिन् ।
‘हामीले विश्वास गरेर पैसा बुझाएका थियौं । तर धोका दिएपछि मलाई त मर्नु न बाच्नु भएको छ । मेरो विश्वासमा परेकाहरु मलाई सताउँछन् । अहिले त राति पनि निन्द्रमा झस्किछु’ उनले भनिन् । उनका अनुसार रमिलाले साइप्रसमै आफ्नो घर भएको र पती पनि उतैको नागरिक भएको भन्दै जालमा पारेकी थिइन् ।
रमिलाले काभ्रेकी उमा भण्डारी सेढाईँलाई चिप्स प्याकिङको काममा साइप्रस पठाउने आशा देखाएकी थिइन् । उनले मेडिकल समेत गर्न लगाइन् । तर पीडितले ऋण लिएर बुझाएको ५० हजार लिएर उनी सम्पर्कविहीन भइन् ।
ललितपुर घर बताउने रमिलाले यसरी नै धेरै युवाबाट लाखौं असुलेकी छिन् । रमिलाले साइप्रसमा ड्राइभिङ, चिप्स प्याकिङ र घरको काममा लगाउने भन्दै ठगी गरेको पाइएको छ ।
रमिलाबाट ठगिएकाहरुको संख्या एकिन त भइसकेको छैन । तर, उनले यी पीडितजस्तै धेरैलाई जालमा पारेको बुझिएको छ ।
रमिलाले धादिङका दिनेश कुमार परियारबाट एक लाख ८० हजार र ऋषी सुवेदीबाट ५० हजार, बाराका सञ्जय परियारबाट ५० हजार, सर्लाहीका लटक लामाबाट ६० हजार र धनश्याम कार्कीबाट ५० हजार असुलेकी छिन् ।
त्यस्तै काभ्रेकी उमा भण्डारी सेढाई, चितवनका सुजन गुरुङ र नवराज महतो, मनवानपुरका अनिल मोक्तान, बर्दियाका रामबहादुर राना मगर, काठमाडौँका दिलीप गुईतेल र दोलखाका नरेश नेपालीबाट ५०/५० हजारका दरले उनले असुलेकी छन् ।
पीडितहरुमाथि विश्वासघात गरी लाखौँ ठगेर फरार भएकी रमिला आफू साइप्रसमै रहेको बताएकी थिइन् । पीडितहरुलाई साइप्रस उडाउँछु भन्दा भन्दै आफै सुटुक्क उडेकी उनले सबै कागजात तयार पार्नु र चिन्ता नलिनु भन्दै अडियो शन्देश पठाएकी थिइन् ।
तर, उक्त सन्देश पठाएको तीन महिना बितिसकेको छ । त्यसपछि भने उनको केही खबर नआएको पीडित दिनेशले बताए । ‘साइप्रसमा मोजमस्ती गरिरहेकी रमिलालाई हामीले धैरैपटक सम्पर्क गर्ने प्रयास गर्याैं तर सम्पर्क हुन सकेन’ उनले भने ।
पीडितहरुले उनीविरुद्ध वैदेशिक रोजागारी विभागमा निवेदन दिइसकेका छन् ।

