सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु


काठमाडौं– सुनसरी, कैलाली र नवलपरासी पूर्वमा सवारी दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ ।

सुनसरीको हरिनगरा गाउँपालिका–१ गोडियारी टोलस्थित सडकमा भुटाहा चोकबाट फुलचोकतर्फ जाँदै गरेको प्र १–०५२ प ३८६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय वीरेन्द्र बहदारको मृत्यु भएको छ ।

मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको पारस अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सोमबार साँझ कैलालीको घोडाघोडी नगरपालिका–२ स्थित सडकमा सुपप्र ०१००९ प ४६१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरीया गाउँपालिका–५ बेलवा बस्ने २५ वर्षीय कालु बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–१५ मुक्तिनाथ टोलस्थित सडकमा प्रदेश ३ ०३–००१ प ६०३४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीय होम बहादुर गुरुङको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया