


‘अरेष्ट वारेन्ट’ जारी भएकाे पाँच दिनसम्म पनि समातिइनन् पञ्चा, के भन्छ प्रहरी ?

काठमाडौं– अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहलाई हत्या अभियोगमा पक्राउका लागि अदालतले अनुमति दिइसकेको छ । १५ वर्षअघिको हत्या सम्बन्धी घटनालाई लिएर सिंहसहित ६ जनालाई पक्राउ गर्न गत शुक्रबार प्रहरीले सुर्खेत जिल्ला अदालतबाट अनुमति पाएको थियोे । कालिकोटको खाँडाचक्र नगरपालिका–८ का १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा उनीसहित ६ जनालाई पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भएको हो ।
तर, पक्राउ पुर्जी जारी भएको आज पाँच दिनसम्म पनि उनी पक्राउ परेकी छैनिन् । सार्वजनिक रुपमा विभिन्न सञ्चारमाध्यममा आफू बेकसुर भएको बताइरहेकी उनलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको हो ।
उनी सत्ताधारी नेकपा माओवादीनिटकको विद्यार्थी संगठनकी अध्यक्ष भएकाले प्रहरीलाई पक्राउ गर्न हिम्मत नआएको हो किन भन्ने संशयमा आम नागरिक छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले अनुसन्धान भइरहेको बताएका छन् । ‘उक्त घटनाका मुख्य नाइके पदमबहादुर रावत हुन् । उनी भारतमा लुकेर बसेको भन्ने जानकारी आएको छ । उनलाई पक्राउ गरेपछि अन्यको संलग्नता छ कि छैन भनेर बुझ्छौं’ उनले भने, ‘हामी मेन मान्छेको खोजीमा छौं । मेन मान्छे ल्याएपछि उसले के भन्छ त्यसकै आधारमा अन्यको सहभागिता पुष्टि हुन्छ । जाहेरी शंकाको आधारमा पनि दिइन्छ । सबै जाहेरी दिएका मान्छे अपराधी हुँदैनन् ।’
किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएकी सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाँडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अली कार्कीविरुद्ध पक्राउ पुर्जी (अरेष्ट वारेन्ट) जारी भएको थियो । प्रहरीले ०७९ साउन १३ गते पक्राउका लागि अनुमति माग गरेको थियो ।
०६५ फागुन २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित जन माविमा अध्ययनरत राजबहादुरको खुकुरी प्रहार गरी हत्या गरिएको बताइएको छ । उनी कालीकोटको पाखाको एउटा विद्यालयबाट एसएलसीमा प्रथम भएर सुर्खेतको जननमुना माध्यमिक विद्यालयमा भर्ना भएका थिए ।
गाउँमा पढेकाहरुले नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर विद्यालयमा भर्ना हुन आएको भनेर छोराले विवाद गरेकै कारण छोरा राजबहादुरलाई २०६५ फागुन २६ गते माओवादी लडाकु र अखिल क्रान्तिकारीका विद्यार्थीले चक्कु प्रहार गरेर हत्या गरेको बुवा बन्दबहादुर मल्लले बताएका छन् ।

