‘बाबा निराला’ र ‘तपस्वी’ बम्जनबीच के छ समानता ?


काठमाडौं- ‘काशिपुरवाले बाबा निराला’को आफ्नै साम्राज्य छ । जहाँबाट उनले विभिन्न सामाजसेवाका काम गर्छन् । गरिब विपन्नलाई निःशुल्क वास दिएका छन् । उनीहरुलाई अध्यापन गर्ने व्यवस्था गरेका छन् । उनीहरुले चाहे जस्तै विषय पढ्न दिएका छन् । जातीय विभेद भोगेकाहरुलाई उनले आफ्नो आश्रममा स्थान दिएका छन् ।

त्यसैले उनका अनुनायी तथा भक्तजनहरुको संख्या बढ्दै गएको छ । विदेशबाट समेत उनले भक्त कमाएका छन् । यतिसम्मकी बाबा निरालाका लागि उनीहरु ज्यान दिनसमेत तयार छन् । उनीहरु आफ्नो सम्पूर्ण सम्पत्ति आश्रमलाई दान गरेर जीवनभर आश्रममा बस्न रुचाउँछन् ।

तर, पर्दा पछाडि उनले विभिन्न काला कर्तुत गरिरहेका हुन्छन् । उनका अनुयायीहरू उनीमा पूर्ण विश्वास गर्छन् तर बाबा धोखेबाज हुन्छन् । उनले आश्रमको नामका लागुऔषधको कारोबार गरिरहेका हुन्छन् । त्यहि लागुऔषध मिसाएको लडडु खुवाएर उनले आफ्ना भक्तहरुलाई आफूप्रति झनै लिन बनाउने कार्य गर्छन् । बाहिरी संसारमा आफ्नो ‘यौनांग’ गुमाएर शरिरिक सुख त्यागेकाे बताउने उनले आश्रममै दुष्कर्म गरिरहेका हुन्छन् ।

उनले आफ्नै महिला अनुनायीहरुको दिनहुँ शोषण गर्छन् । कसैले विरोध गरे मारेर गाड्न लगाउने उनले दान तथा लागुऔषध कारोबारबाट अरबौं सम्पत्ति आर्जन गरेका छन् । राजनीति गर्ने नेतादेखि प्रहरी अधिकारीसम्मलाई बाबा निरालाले आफ्नो भक्त बनाएकाले उनीविरुद्ध कोही बोल्न मान्दैनन् ।

तर, त्यहि बीचमा ‘पम्मी’ नाम गरेकी एक अनुनायी उनको आश्रममा आउछिन् । सुरुमा आँखा बन्द गरेर बाबालाई विश्वास गरेकी उनले पछि गएर काला कर्तुतबारे थाहा पाउँछिन् । त्योबीचमा बाबाले उनको पनि शोषण गर्छन् । बाबाको शोषणपछि पम्मी उनको चंगुलबाट भाग्न सफल हुन्छिन् । उनी बाबा र आश्रमको पर्दाफास गर्न विभिन्न असफल प्रयास गर्छिन् । अन्त्यमा बाबाले पुनः उनलाई समात्न सफल भएका छन् । यहाँनिर कथा सकिन्छ ।

वास्तवमा यो कुनै सत्य घटना होइन । यो हिन्दी वेभ सिरिज ‘आश्रम’को कथा हो । कूल ४ वटा सिजनसम्म रिलिज भएको यो सिरिजमा अब के हुन्छ भनेर दर्शक पर्खिरहेका छन् । आश्रममा बाबा निरालाको रोल बबी देवलले निभाएका छन् ।

यो कथा जस्तै वास्तविक घटनाबारे अहिले नेपाली सञ्चार माध्यममा चर्चा भइरहेको छ । ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे विभिन्न तथ्यहरु बाहिर आइरहेका छन् ।

मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका उनीमाथि अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले उनको घरबाट तीन करोड तीन लाख ७५ हजार , विभिन्न १७ देशको ३० लाख बराबरको अवैध मुद्रा, १४ थान मोबाइल, ५ थान ल्यापटप र आइप्याड, २० थान पेनड्राइभ भेटाएको थियो ।

बम्जनले करोडौंको गाडी चढ्ने गरेको पनि अनुसन्धानका क्रममा पाइएको छ । बम्जनले धुम्बाराहीस्थित एक शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्दै थिए । बम्जनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको छ ।

तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका बम्जनविरुद्ध चारवटा जिल्लामा फरक–फरक जाहेरी परेका छन् । उनीविरुद्ध नुवाकोट, सर्लाही, मकवानपुर र बारा जिल्ला प्रहरी कार्यालयमा बलात्कार र बेपत्ता पारिएको भन्दै आफन्त र पीडितले जाहेरी दिएका छन् । रामबहादुर बम्जनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको तथा कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोपमा उजुरी र मुद्दा परिसकेको छ ।

बम्जनको आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवाकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन् । बम्जनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइवा पनि सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन् । सर्लाहीमा बम्जनविरुद्ध बाल यौन दूराचारको मुद्दा चलिरहेको छ ।

बुधबार प्रहरीले पक्राउ परेका बम्जनलाई सार्वजनिक गरेर सर्लाही लग्ने तयारी थालेको छ ।

 

प्रतिक्रिया