

राष्ट्रिय सभाका लागि कर्णालीबाट भूपेन्द्रजंगसहित ८ सिफारिस

काठमाडौं – नेपाली कांग्रेस कर्णालीले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।
कर्णाली प्रदेशमा रिक्त हुने तीनवटा सिटका लागि कांग्रेस प्रदेश समितिले भूपेन्द्रजंग शाहीसहित ८ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको हो।
प्रदेश समितिको मंगलबार बसेको बैठकले भूपेन्द्रजंग शाही, सनत कार्की, गोपालजीजंग शाह, मानबहादुर नेपाली, रवीन्द्र श्रेष्ठ, लाल हमाल, रामछाया शाही र खगीसरा आचार्यको नाम सिफारिस भएको हो।
आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुँदैछ। राष्ट्रिय सभाका लागि यही पुस २३ गते उम्मेदवारी दिने निर्वाचन आयोगको निर्वाचन कार्यतालिका रहेको छ ।

