

‘प्रचण्ड’का सुरक्षा गार्ड समेत बनिसकेका ‘जटिल’ले आफैलाई मारे, क्षतिपूर्ति लिन गएका थिए भारत

काठमाडाैं- पूर्व माओवादी लडाकु तुलसीसिंह भुलले भारतमा आत्महत्या गरेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुरक्षा गार्डसमेत रहेका तुला भुल (जटिल)ले भारतको महाराष्ट्रमा आत्महत्या गरेका हुन् ।
पूर्व जनमुक्ति सेना तथा तत्कालीन युद्धरत अवस्थाको माओवादी पार्टीको केन्द्रीय कार्यालय एवं अध्यक्ष प्रचण्डकै सुरक्षा कमाण्डर रहेका उनले पार्टीको राजनीति पनि गरेका थिए।
५३ वर्षको उमेरमा जटिलले अचानक आत्महत्या गरेको आइतबारमात्र आफूहरुले खबर पाएको उनका भाई जगत भुलले जानकारी दिए ।
उनका अनुसार जटिल ३ महिना अगाडि भारतको महाराष्ट्र गएकोमा पत्नीसहित आफन्तहरुसँग बस्दै आएका थिए ।
उनको स्थायी घर अछाम जिल्लास्थित पञ्देवल विनायक नगरपालिका–५ लयांटी हो । जटिल तत्कालिन जनमुक्ति सेना नेपालको सातौ डिभिजन अन्तरगत लोकेश स्मृति विग्रेड अन्तर्गतको दुई नम्बर बटालियन सह कमाण्डर रहेका थिए ।
करिब १ वर्ष अगाडि उनको १८ वर्षको छोरा दुर्घटनामा महाराष्ट्रमै मृत्यु भएकाे र त्यसपछि भारतबाट पाइने क्षतिपूर्ति लिनका लागि उनी महाराष्ट्रको पुगेको बताइएको छ ।

