इपीएसः परिक्षा शुल्कबाट नै उठ्यो ५३ करोड ६२ लाख !


काठमाडौं – वैदेशिक रोजगारीका लागि कोरिया जानका लागि पास गर्नुपर्ने कोरियन भाषा परिक्षामा सहभागी हुनका लागि १ लाख ४३ हजार बढीले आवेदन दिएका छन् । प्रतिआवेदक २८ डलर फर्म शुल्क रहेको उक्त फर्मबाटै ५३ करोड भन्दा बढी रकम बाहिरिएको छ ।

कोरियन भाषा परीक्षा (इपीएस) का लागि यसपटक १ लाख ४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको जनाइएको छ । ती आवेदकहरुमध्येबाट प्रति आवेदक २८ डलरका दर ले ४० लाख २६ हजार ७ सय ३६ डलर परिक्षा शुल्क उठेको छ । उक्त रकम आजको विनिमय दर १३३.१६ पैसाका अनुसार ५३ करोड ६२ लाख १ सय ६५ रुपैयाँ रहेको छ ।

पुस २ गतेदेखि खुलेको फारमबाट यसपटक १५ हजार ८ सय ४८ जनालाई रोजगारीका लागि कोरिया लैजाने जनाएको छ ।

यसबाहेक गत साउनमा सञ्चालन भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने हुँदा यसपालि परीक्षार्थीको संख्या अझै बढ्ने देखिएको छ ।

साउनको परिक्षामा सामेल भएर अनुत्तीर्णहरुले परिक्षा दिन नपाउने इपीएसको निर्णयविरुद्ध उच्च अदालतमा रिट परेको थियो । तर अदालतले सो समय अनुत्तीर्ण भएकाहरूले पनि यसपटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेसँगै परिक्षार्थी संख्या बढ्ने देखिएको हो ।

पछिल्लो समय नेपाली युवाहरुका लागि कोरिया पहिलो रोजाईको गन्तव्य बन्दै आएको छ । कम लगानी र राम्रो तलबका कारण नेपालका निजामति कर्मचारी, शिक्षकका साथै सुरक्षा निकायमा कार्यरतहरुले पनि फर्म भर्ने गरेका छन् ।

अघिल्ला वर्षहरुमा विशेष गरी सुरक्षा निकायमा कार्यरतहरुले कोरियालाई पहिलो प्राथमिकता दिन थालेका थिए । पछिल्लो समयमा सुरक्षा निकायहरुमा सम्पर्कबिहीन रहने कर्मचारीहरु वैदेशिक रोजगारीका लागि गएको थाहा हुन आएको छ ।

विशेष गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तल्ला तहका कर्मचारीहरु कोरियाप्रति आकर्षित भएको देखिएको छ । नेपाली सेना र अन्य दुई सुरक्षा निकायबीच भएको विभेदका कारण प्रहरी र सशस्त्रका कर्मचारीहरु जागिरभन्दा कोरियालाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाइएको छ ।

नेपाली सेनामा १६ वर्षमा पेन्सन रहेको तर प्रहरी र सशस्त्रमा २० वर्ष रहेपछि पेन्सनपछि कोरिया जानका लागि उमेर बढी हुने भएकाले प्रहरी र सशस्त्रका कर्मचारीहरु जागिर छाडेरै कोरिया जाने क्रम बढ्दो देखिएको छ ।

प्रतिक्रिया