शेयर बजारमा हरियाली, ४५ अंकले नेप्से बढ्दा ५ महिनापछि २१०० माथि पुग्यो परिसूचक


काठमाडौं — पछिल्ला केही दिन यतादेखि बढ्दै आएको शेयर बजार मंगलबार पनि बढेको छ ।

मंगलबा यसदिन नेप्से ४५.९८ अंकले बढेर २१०६.४८ बिन्दुमा बन्द भएको छ। यससँगै ५ महिनापछि नेप्से २१०० माथि पुगेको छ ।

मंगलबारको बजारमा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो कारोबार दिन छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रूपैयाँको सेयर कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार कारोबार रकममा ८८ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३१३ वटा धितोपत्रको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५३ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन १० कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। बोटलर्स नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स र बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।

यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको इकाइ मूल्य सर्वाधिक ७.२६ प्रतिशतले घटेको छ। उक्त योजनाको इकाइ मूल्य ८ रूपैयाँ ३० पैसामा सीमित भएको छ।

यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य ४.९० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३३० रूपैयाँ कायम भएको छ।

मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ५९४ रूपैयाँमा ३७ करोड ४३ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५१५ रूपैयाँमा २८ करोड ७३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६.९४ प्रतिशतले बढेको छ।

यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.७४ प्रतिशतले बढेको छ।

प्रतिक्रिया