कोशी प्रदेशः बजेट सर्वसम्मतिले पारित


विराटनगर – कोशी प्रदेशसभा बैठकबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक (बजेट) सर्वसम्मतिले पारित भएको छ ।

मुख्यमन्त्री केदार कार्कीले मङ्सिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए ।

प्रस्तुत बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रस्ताव थियो । यसअघि उक्त विधेयकमा असहमति राख्दै एमालेका ६ र राप्रपाका २ सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए ।

यसरी खर्च कटौतीको प्रस्ताव गर्ने सांसदहरूमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राई रहेका छन् । यस्तै राप्रपाका भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्मा रहेका छन् । उनीहरूले आफ्नो प्रस्ताव फिर्ता लिएसँगै विनियोजन विधेयक निर्णयार्थ पेश भएको थियो । उक्त प्रस्तावलाई सबै दलले ध्वनि मतका साथ समर्थन गरेका थिए ।

यसअघि विनियोजन विधेयकको सैद्धान्तिक छलफलका क्रममा भने सत्तारूढ दलसहित एमाले र राप्रपाले पनि तीव्र असन्तुष्टि व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया