मार्क्सवादी अर्थराजनीतिको मूल मुद्दा बनेर पर्यावरणको मुद्दा आएको छः प्रधानमन्त्री दाहाल


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्यावरणको मुद्दा कुनै प्राविधिक विषय मात्र नभएर यो मार्क्सवादी अर्थराजनीतिको मूल मुद्दा बनेर सबैका अघिल्तिर आइसकेको बताएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य कमरेड विशाल खड्काद्वारा लिखित ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले पर्यावरणीय संकटलाई मार्क्सवादी कोणबाट समाधानको बाटो पहिल्याउन आवश्यक रहेको बताएका हुन् ।

पुस्तकमा खड्काले आठ अर्ब मानिसको साझा पृथ्वी, पर्यावरण र जलवायु परिवर्तनले विश्वभर निम्त्याएको सङ्कटबारे चर्चा गर्नुका साथै यसको समाधानका लागि मार्क्सवादी वैचारिकी नै किन आवश्यक छ भनेर चर्चा गरेका छन् । विश्वकै कम उमेरकी पर्यावरण अभियन्ता ग्रेटा थनवर्गले आममानिसलाई पर्यावरणको मुद्दा कुनै प्राविधिक विषय नभई यो साझा मानिसको चिन्ता हो भनेर भनेझैँ लेखक विशाल खड्काले पनि यो मुद्दा आममानिसको र विशेष गरेर मार्क्सवादीको चिन्ता र चिन्तन गर्नुपर्ने विषय हो भनेर जोड दिएका छन्।

सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित मुलुकहरूले अविकसित र अल्पविकासशील मुलुकमा पुगेको अपूरणीय पर्यावरणीय क्षतिलाई रोक्नका लागि क्लाइमेट फाइनान्स कोषको स्थापना गरी सन् २०२० सम्म १०० बिलियन डलर उपलब्ध गराउने बाचा गरे पनि उक्त रकम उनीहरूले जम्मा नगरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देखाउँछ।

उक्त अवसरमा प्रधानमन्त्री दाहालले भने, ‘विकसित मुलुकहरूको मूल ध्येय पर्यावरण जोगाउनुका सट्टा युद्धमा लगानी गरेर मुनाफा कमाउनु रहेको छ भन्ने लेखकको निष्कर्षलाई यसै नकार्न सकिँदैन। त्यसैले लेखकले अविकसित र अल्पविकासशील मुलुकहरूले विकसित मुलुकबाट क्षतिपूर्ति पाउनु उनीहरूको अधिकार हो भन्ने कुरामा जोड दिनुभएको छ।’

प्रतिक्रिया