
महिला टी–२० सिरिजः नेपालको सान्त्वना जित, जापानविरुद्ध ६७ रनले विजयी
काठमाडौं – चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित हात पारेको छ ।
नेपालले कमजोर टिम जापानविरुद्ध ६७ रनको फराकिलो जित हात पारेको हो ।
नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको जापान २० ओभरमा सबै विकेट गुमाउँदै ४६ रन बनाएपछि नेपालले फराकिलो जित हात पारेको हो ।
जापानका लागि सेइका सुमी र मेग ओगावाबाहेक अन्य ब्याटरहरुले दोहोरो अंकको रन जोड्न सकेनन् । उनले सर्वाधिक १३ रन बनाएकी थिइन् । उनलाई संगीता राईले बोल्डआउट गरेकी थिइन् । ओगावाले १७ रन बनाइन् ।
नेपालका लागि संगीता राईले ५ विकेट हात पारिन् भने पूजा महतो र अस्मिना कर्माचार्यले २/२ विकेट लिएका थिए । संगीताले चार ओभर बलिङ गर्दा ६ रन दिएर ५ विकेट हात पारेकी थिइन् । जापानकी ओगावा अन्तिम बलमा रनआउट भएकी थिइन् ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।
नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले ३८ रन बनाइन् भने कप्तान इन्दु बर्माले २७ रन बनाइन् । त्यस्तै काजल श्रेष्ठले १५ रन बनाउँदा पूजा महतोले १३ रन बनाइन् ।
त्यस्तै सिता रानामगर ९ रनमा आउट हुँदा अस्मिना कर्माचार्य १ रन बनाएर नटआउट रहिन् । नेपालले १० अतिरिक्त रन पाएको थियो ।
प्रतियोगितामा नेपाल हङकङ र तान्जानियासँग पराजित हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको थियो भने जापान पनि यी दुईदेशसँग पराजित भइसकेको थियो ।



कागजपत्र |
