
नेपाल तान्जानियासँग २७ रनले पराजित
काठमाडौं – हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । नेपाललाई तान्जनियाले २७ रनले पराजित गरेको हो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो ।
टस जिती पहिले ब्याटिङ गरेको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो ।
नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा ओर्लिएको नेपाली टोलीका ब्याट्रहरुले निराशाजनक प्रदर्शन गरे । नेपालका लागि सातौँ नम्बरमा क्रिज समाल्न आएकी अनुभवी खेलाडी सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान गरिन् ।
सीताले ३१ बलको सामना गरी चार छक्का पनि हिर्काइन् । इन्दूले १८ बलको सामना गरी दुई चौकाको मद्दतले १५ रन बनाइन् । नेपालका अन्य खेलाडीले भने दोहारो अंकमा रन बटुल्न सकेनन् । इश्वरी बिष्ट तीन रन बनाउँदै आउट भइन् । उनको विकेट तान्जनियाकी बलर जेरोमले लिएकी हुन् । खुसी डंगोल शून्य रनमा अविजित रहिन् ।
तान्जनियाका बलर सोफिया जेरोमले तीन विकेट लिइन् । निमा पियुषले दुई विकेट हात पारिन् । आइसा मोहमद, युसाङ्गा र पेरिस जाकायोले एक—एक विकेट लिए । नेपाली टोलीले अतिरिक्त रुपमा नौ रन पाएको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार आयोजक हङ्कङसँग खेल्नेछ । सोही दिन जापान र तान्जनियाबिच अर्को खेल हुनेछ ।
त्यसअघि टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । तान्जनियाका लागि आइसा मोहमदले २१ रनको योगदान गरिन् । हुद्दा ओमारीले २५ रन बनाइन् । उनले २६ बलको सामना गरी दुई चौका हिर्काइन् ।
ओमारी रन आउट भएर पेभेलियन फर्किएकी थिइन् । उनलाई अस्मिना कर्माचार्यले रन आउट गराएकी थिइन् । तान्जनियाको खातामा सोफिया जेरोमले अविजित ६ र सुफा मोहमेदीले अविजित एक रन थपिन् । तान्जनियाले अतिरिक्त रुपमा १० रन पाएको थियो ।
नेपालकी बलर संगिता राईले दुई विकेट लिइन् । उनले तीन ओभर बलिङ गर्दै केवल १६ रन खर्चिएकी थिइन् । यसका अतिरिक्त कप्तान इन्दू बर्मा, पूजा महतो र निवर्तमान कप्तान रुबिना क्षेत्रीले एक—एक विकेट लिएका थिए ।
तान्जनियाको पहिलो विकेट नेपाली टोलीकी निवर्तमान कप्तान रुविना क्षेत्रीले लिएकी थिइन् । रुविनाले तान्जनियाकी ओपनर फातुमा किबासुलाई बोल्ड गरेकी थिइन् । तान्जनियाकी कप्तानसमेत रहेकी फातुमाले पेभेलियन फर्किनुअघि १५ बलको सामना गरी एक चौकाको मद्दतले ११ रन बनाएकी थिइन् । तान्जिनियाले ३.४ ओभरमा पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो ।
तान्जनियाको दोस्रो र तेस्रो विकेट नेपाली बलर संगिता राईले लिएकी थिइन् ।
शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङसँगै चौथो टोलीका रुपमा जापान सहभागी छ । नेपालले नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । नेपालले तान्जिनियाविरुद्धको खेलको पनि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।



कागजपत्र |
