आर्मीलाई हराउँदै पुलिसले जित्यो वीरगन्ज गोल्डकपको उपाधि


वीरगञ्ज – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल प्रहरीको नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

आदर्शनगर रंगशालामा शनिबार भएको भिडन्तमा आर्मीलाई पुलिसले टाइब्रेकरमा २–० ले पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतिस्पर्धात्मक विभागीय फाइनल भिडन्तको निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निकालिएको हो। टाइब्रेकरमा आर्मीका चार खेलाडीको प्रहार कमजोर बन्न पुग्दा पुलिसले उपाधि जितेको हो।

टाइब्रेकरमा पुलिसका लागि जर्सी नम्बर ७ का रामचन्द्र बाजी र जर्सी नम्बर ३० का बुद्ध तामाङले गोल गर्दा जर्सी नम्बर १६ का उज्जवल राईको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाऊ गरे।

त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर १८ का कप्तान नवयुग श्रेष्ठ, जर्सी नम्बर २९ का बिमल पाण्डे, जर्सी नम्बर ९ का सन्तोष केसी र जर्सी नम्बर १९ का जितेन्द्र कार्कीको प्रहारले जाली चुम्न सकेन।

उपाधि विजेता पुलिसले नगद ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेता आर्मीले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेको छ।

उपाधि विजेता टिमलाई वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले सिल्ड र प्रमाणपत्र वितरण गरेका थिए भने उपविजेता टिम त्रिभुवन आर्मी क्लबलाई उपप्रमुख इम्तियाज आलमले सिल्ड र प्रमाणपत्र वितरण गरेका थिए।

 

प्रतिक्रिया