

विश्वकप क्रिकेटः अष्ट्रेलियालाई बंगलादेशले दियो ३०७ रनको लक्ष्य

पुने – एकदिवसीय विश्वकप क्रिकेटमा सेमिफाइनल दौडबाट बाहिरिइसकेको बंगलादेशले सेमिफाइनल प्रवेश गरिसकेको अष्ट्रेलियालाई जितका लागि ३०७ रनको लक्ष्य दिएको छ।
महाराष्ट्र क्रिकेट एशोसिएशन पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पूरा ओभर खेलेर ८ विकेटको क्षतिमा ३०६ रन बनाएको हो।
बंगलादेशका टोहिड हृडोयले सर्वाधिक ७४ रन बनाए। उनले ७९ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
कप्तान नजमुल हुसैन शान्टोले ५७ बलमा ६ चौका हान्दै ४५ रन बनाए। त्यस्तै तान्जिड हसनले ३६, लिटोन दासले ३६, महमुदुल्लाहले ३२, मुस्फिकर रहिमले २१ र मेहदी हसन मिराजले २९ रन बनाए।
बलिङतर्फ सिन एब्बोट र एडम जम्पाले २/२ विकेट लिँदा मार्कस स्टोइनिसले १ विकेट लिए।
८ खेलमा ६ खेल जितेको अष्ट्रेलिया लिग तालिकाको तेस्रो स्थानमा छ भने बंगलादेश ८ खेलमा ६ हार ब्यहोर्दै आठौं स्थानमा छ।
लिग चरणबाट शीर्ष ४ टोली सेमिफाइनल खेल्नेछ।

