जलवायु सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएई जाने


काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ।

आगामी मंसिर १४ देखि २६ गतेसम्म हुने सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सहभागिता जनाउने भएको छ। वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन तयारी थालेको बताएको छ।

मन्त्रालयले बिहीबार आयोजना गरेको कोप–२८ मा नेपालको तयारी अवस्था र सुझाव संकलन कार्यक्रममा प्रधानमन्त्री दाहालका विकास व्यवस्थापन विज्ञ डा पपुलर जेन्टलले सम्मेलनमा प्रधानमन्त्रीको सहभागिताबारे जानकारी गराए। उनले भने, ‘यस पटकको जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञसम्मिलित रहेको सशक्त प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ। सबै क्षेत्रबाट सुझाव संकलन गरी नेपालले प्रस्तुत गर्ने स्थितिपत्रलाई अन्तिम रूप दिइनेछ।’

विज्ञ जेन्टलले नेपालले यस सम्मेलनमा पहिलो पटक आफ्नै ‘पेभिलिएन’ स्थापना गर्न लागेको बताउँदै त्यसमा ३० भन्दा बढी विभिन्न क्षेत्र र विषयका कार्यपत्रसहित नेपालले गुणस्तीय र प्रमाणसहित कार्यक्रम गर्ने अवगत गराए।। ‘नेपालले विश्वसामु सफल र राम्रा अभ्यास देखाउने छ, यो सरकारको मात्र नभई गैरसरकारी संस्था, नागरिक समाज हामी सबैको जिम्मेवारी हो’ उनले भने।

सम्मेलनअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले नेपालको जलवायुका मुद्दालाई धेरै उचाइमा पुर्‍याएको भन्दै उनले यसलाई सबै मिलेर उपयोग गर्न लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा वन मन्त्री डा वीरेन्द्रप्रसाद महतोले सम्मेलनको तयारी तिव्रताका साथ भइरहेको बताउँदै यसपटक नेपालले उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ आफ्ना मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रुपमा राख्ने जानकारी दिए।

‘केही वर्षयता नेपालमा ठूलो बाढी, पहिरो र प्राकृतिक विपद्का घट्ना बढिरहेका छन्, हिमनदि पग्लिने क्रम बढ्दो छ’, मन्त्री महतोले भने, ‘यसका लागि हामीले आन्तरिक र बाह्य दुबै रुपमा तयारी गर्नु आवश्यक छ। अनि मात्र हाम्रो आवाज प्रभावकारीरूपमा सुनिन्छ ।’ कोप सम्मेलनको तयारीका साथै आन्तरिक रूपमा जलवायुका असर न्यूनीकरणमा पनि आफै अग्रसर हुनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया