
प्रधानमन्त्रीलाई भेट्न महामन्त्रीद्वय सहित बालुवाटार पुगे देउवा
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सभापति देउवा, महामन्त्रीद्वय तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मासहित आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले जाजरकोट केन्द्र भई गत शुक्रबार गएको भूकम्पका पीडितलाई उद्धार, राहत र पुनर्स्थापनामा तत्काल काम गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो।
आजको भेटमा कांग्रेस बैठकको निर्णय अनुसार भूकम्पपीडितलाई सहयोग गर्न सरकारी कोषमा ५० लाख रुपैयाँ प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् । साथै संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि उपलब्ध गराउने कांग्रेसको निर्णय छ ।
भूकम्पपछिका अवस्था अवलोकन र सहजीकरणका लागि कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मा संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको थियो। कांग्रेस सभापतिसहित नेताहरूले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सबै भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउनसमेत माग गरेका छन्।



कागजपत्र |
