महसुल उठाउन आक्रामक प्राधिकरण, मन्त्रालयसहित दर्जन सरकारी कार्यालयको बत्ती काटियो


पोखरा । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरण महसुल उठाउनका लागि आक्रामक रुपमा अगाडि बढेको छ ।

यसै सन्र्दभमा प्राधिकरणले समयमा महसुल नबुझाएपछि गण्डकी प्रदेशका मन्त्रालय सहित १२ सरकारी कार्यालयको लाइन काटिदिएको छ ।

लामो समयसम्म विद्युत् महसुल नबुझाएको भन्दै प्राधिकरणको पोखरा वितरण केन्द्रले लाइन काटिदिएको हो ।

६० दिनभन्दा बढी बक्यौता भएका ग्राहकको लाइन काट्ने अभियान चलाइएको केन्द्रले जनाएको छ । भौतिक पूर्वाधार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १ लाख ५३ हजार रुपैयाँ बक्यौता नबुझाएपछि लाइन काटिदिएको छ ।

प्रादेशिक कृषि निर्देशनालय, भूमि व्यवस्थापन एटिएम, प्रादेशिक पशु रोग निदान विभाग, फेवाताल जलाधार आयोजना, विजयपुर बेगनास ताल सिँचाइ कार्यालय र प्रादेशिक शिक्षा निर्देशनालयको लाइन पनि काटिएको थियो ।

केन्द्रले सरकारी कार्यालय बाहेक अन्य विभिन्न  १ सय ६१ ग्राहकको लाइन पनि काटेको छ ।

प्रतिक्रिया