

नेपाल छनोट भएको टी–२० विश्वकपमा कुन–कुन टिम भिड्दैछन् त ?

काठमाडौं – मूलपानीमा युएईलाई निराश तुल्याउँदै छनोट भएको टी–२० विश्वकपमा खेल्ने २० टिममध्ये १८ टिमको टुंगो लागिसकेको छ ।
वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी पुरुष टी–२० विश्वकप(२०२४ मा नेपालसहित २० टोली सहभागी हुनेछन्। सन् २०२२ को आईसीसी पुरुष टी–२० विश्वकपका शीर्ष आठ टोलीहरू( अष्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले सन् २०२४ को प्रतियोगिताका लागि स्वतः छनोट भएका छन्।
त्यस्तै आयोजकको हिसाबले अमेरिका र वेस्ट इन्डिज स्वतः छनोट भए। अफगानिस्तान र बंगलादेश टी–२० वरीयताबाट अर्को दुई टोलीका रूपमा प्रतियोगिताका लागि छनोट भएका छन् ।
युरोपेली क्षेत्रबाट आयरल्यान्ड र स्कटल्याण्ड पनि छनोट भएका छन्। त्यस्तै पपुवा न्यू गिनीले पूर्वी एसिया–प्यासिफिक क्वालिफायर जितेर आफ्नो स्थान सुरक्षित गरेको छ भने क्यानडाले अमेरिका छनोट जितेर विश्वकपमा आफ्नो उपस्थिति पक्का गर्यो।
नेपाल र ओमान एसियाली छनोटबाट छनोट भएका छन् भने दुई अफ्रिकी टोली अर्को महिना नामिबियामा आयोजना हुने अफ्रिकाबाट छनोट हुनेछन्। नेपालले यसअघि २०१४ मा पनि विश्वकप खेलेको थियो।

