
सिटिजन्स बैंक सञ्चालक समिति अध्यक्षमा प्रवलजंग पाण्डे, प्रविधिमा आधारित बैंकिङ पहिलो प्राथमिकता
काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले प्रवलजंग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।
पाण्डे यसअघि बैंकको सञ्चालक थिए। उनी मर्जर तथा एक्विजिसन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो।
बैंकका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन्। अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता जनाएका छन्। उनले बैंकको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै नयाँ प्रविधिमा आधारित बैंकिङलाई प्राथमिकतामा राख्ने र सेवा बिस्तार गर्ने बताए।
उत्पादनमूलक उद्योगबाट देशको आर्थिक विकास हुन्छ भन्ने पाण्डेलाई लाग्छ। उनी कसमस सिमेन्टका निर्देशक पनि हुन्। इस्टन कसमसमा पनि उनी निर्देशक छन्।
लोमस फर्मास्यूटिकल्समा सञ्चालक रहेका पाण्डे निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा समेत आवद्ध छन्। बैंक तथा वित्तीय क्षेत्रका साथै निजी क्षेत्रको सम्पूर्ण डाटा यहाँ राखिन्छ।
फर्चुना ग्रुपमा पनि पाण्डे छन्। फर्चुना ग्रुपले औषधिको प्याकिङ सामग्री उत्पादन गर्दै आएको छ। पाण्डे नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन्।
इन्जिनियरिङमा स्नातक गरेका पाण्डे दुई दशकभन्दा बढी समयदेखि सिमेन्ट, औषधिजन्य उत्पादन लगायतका उद्योग र व्यापारमा सक्रिय छन्।
नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भई नेतृत्वदायी भूमिका निभाइरहेका पाण्डेको अनुभवी नेतृत्वमा अझ बढी सफलता प्राप्त गर्ने विश्वास बैंकले लिएको छ।
साधारण सभाले सजन शर्मा र सीता कार्की केसीलाई सञ्चालक चयन गरेको छ। सर्वसाधारणका तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की तथा स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली छन्।
साधारणसभाले ५.७९ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ भने उपयुक्त संस्थालाई गाभ्ने / गाभिने प्रकृया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय गरेको छ।



कागजपत्र |
