

युवा जनशक्ति विदेश पलायन हुनु चिन्ताजनक : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले युवा जनशक्ति विदेश पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गरेकी छन्। अन्नपूर्ण मिडिया नेटवर्कको अंग्रेजी दैनिक द अन्नपूर्ण एक्सप्रेसले आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गर्नुपर्ने बताइन्।
‘रोजगारीका अवसर र गुणस्तरीय शिक्षाको खोजीमा युवा जनशक्तिका साथै ठूलो धनराशि विदेश पलायन हुनु दुःखद कुरा हो। यसलाई रोक्न स्वदेशमै गुणस्तरीय शिक्षाको व्यवस्था एवं रोजगारीको सिर्जना गर्नु अति आवश्यक छ,’ उनले भनिन्।
पूर्व राष्ट्रपति भण्डारीले ठूलो राजनीतिक परिवर्तनपश्चात देश आर्थिक समृद्धिको बाटोमा अग्रसर रहे पनि अनेकौं चुनौतीको सामना गर्नुपरिरहेको बताइन्। जल, जमिन, जंगल, जडिबुडी, जैविक विविधताका साथै खनिजलगायत अमूल्य प्राकृतिक स्रोतहरूको सदुपयोग र उचित व्यवस्थापन हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।
‘फलस्वरुप कृषि प्रधान भनिएको हाम्रो देश कृषिमै आत्मनिर्भर हुन सकिरहेको छैन। सियो, धागोदेखि महँगा गाडीसम्म आयात गरिरहेका छौं। जसका कारण हाम्रो व्यापार घाटा दिनप्रतिदिन चुलिँदै गएको छ,’ उनले भनिन्।
उनले मुलुकमा उपलब्ध प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदाहरूको दीगो उपयोग एवं युवा जनशक्तिको परिचालनमार्तफ् स्वदेशी उत्पादन र उत्पादकोत्वमा वृद्धि गर्दै स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र विकास गर्नु अहिले चुनौती बनेको बताइन्। मुलुकले यसखालका चुनौतीलाई पन्छाउँदै उद्यमशिलता र नवप्रवर्तनको विकासमर्फत् मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सरकार, निजी क्षेत्र र आमसञ्चार क्षेत्रको समन्वयात्मक पहलको आवश्यकताभएको उनको भनाइ छ।
उनले संविधानले सबै प्रकारका विभेदको अन्त्य गरेको बताइन्। ‘हाम्रो संविधानले सबै प्रकारका विभेद्को अन्त्य गर्दै समन्याय र समविकासको सिद्धान्तका आधारमा सबै धर्म, जातजाति, भाषाभाषी, लिंग र क्षेत्रका जनताको लागि राज्यका निकायहरूमा समावेशी तथा समानुपातिक सहभागिता सुनिश्चित गरेको छ। तर व्यवहारिकरूपमा जातीय छुवाछुत रहेको छ।
समाजिक विभेद्लाई न्यूनीकरण गर्दै समतामूलक र सभ्य समाज निर्माणका लागि आमसञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ उनले भनिन्। उनले देश निर्माणका निम्ति महत्वपूर्ण भूमिका खेलेको भन्दै अन्नपूर्ण मिडिया नेटवर्क र अध्यक्ष क्याप्टेन रामेश्वर थापाको प्रशंसा गरिन्।

