

कोशीका मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद विस्तार, २ मन्त्री र २ राज्यमन्त्री नियुक्त

विराटनगर – कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (सोमबार) मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेकपा एमालेबाट दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गरेका हुन् ।
जस अनुसार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।
उनीहरुको आजै शपथ ग्रहण गराउने तयारी रहेकाे बताए । सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।
सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की पछिल्लो पटक गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आगामी २१ गतेभित्र विश्वासको मत लिइसनुपर्ने छ ।

