

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता, छलफल निष्कर्षबिहीन

काठमाडौं – सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच भएको वार्ता निष्कर्षबिहीन टुंगिएको छ । गृहमन्त्रालयमा भएको वार्तामा कुनै पनि निष्कर्ष नआएकोले आन्दोलन जारी रहेको वार्तामा सहभागी भएका एक शिक्षक प्रतिनिधिले जनाए ।
यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् ।
बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने गृह मन्त्रालयमा वार्तामा बसेका हुन् । बिहान आठ बजेदेखि जारी वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी थिए ।
आज पनि शिक्षकको आन्दोलनका कारण उपत्यकालगायत देशभरका सामूदायिक विद्यालयमा पठनपाठन ठप्प रहेको छ । राजधानीका कतिपय विद्यालयहरुमा विद्यार्थीहरु गए पनि उनीहरुलाई बाहिरबाटै फर्काइएको जनाइएको छ ।
शिक्षकहरुले आज (बिहीबार) पनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।

