

कावा प्रधानमन्त्री खड्काले सबै मन्त्रीहरुलाई किन बोलाए रक्षा मन्त्रालय ?

काठमाडाैं – कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद्का सदस्यहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् । आज सबै मन्त्रीहरूलाई रक्षा मन्त्रालयमा बोलाएर छलफल गर्दै उनले आ-आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुने गरी कार्यसम्पादन गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला पनि जनतासँग जोडिएका र सेवा प्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको कावा प्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।
छलफलमा उनले देशको शान्तिसुरक्षामा खलल पु¥याउने र नागरिकमा वितृष्णा फैलाउने तत्वहरू सक्रिय हुन खोजेकाले त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्नेमा जोड दिए । साथै उनले संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वहरूमा शान्तिसुरक्षादेखि बजारको आपूर्तिमा सहजता ल्याउँदै कालोबजारी र महँगी नियन्त्रणमा नतिजा आउने गरी तथा आम नागरिकले राहत महसुस गर्ने गरी समयसीमा तोकेरै सबैले काम गर्नुपर्नेमा जोड दिए ।
छलफलमा सबै मन्त्रालयको कार्यसम्पादन बढाउने र जनतालाई प्रदान गर्ने सेवाप्रवाह थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो । बैठकमा चाडपर्वको बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजना बनाई महत्वका साथ सरकारले लाग्नुपर्ने कावा प्रधानमन्त्री खड्काले जोड दिए ।
छलफलमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सबै मन्त्रीहरूले नागरिकको दैनिक जीवनसँग जोडिएका शान्तिसुरक्षालगायत बजारको आपूर्ति व्यवस्थाबारे आ-आफ्नो मन्त्रालयबाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । रासस

