नयाँ दिल्लीमा जी-२० सम्मेलन सुरू


नयाँ दिल्ली – शक्ति राष्ट्रहरू सम्मिलित जी-२० सम्मेलन नयाँ दिल्लीमा सुरू भएको छ। नयाँ दिल्लीस्थित प्रगति मैदानमा सुरू भएको सम्मेलनमा युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रहरू सहभागी छन्।

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री फुमियो किसिदा, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल, जर्मन चान्सलर ओलाफ स्कोल्ज, युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेल, विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससलगायत सहभागी छन्।

भारतीय प्रधानमन्त्री मोदीले आर्थिक एवं औद्योगिकरूपमा कम विकसित देशहरूलाई एकैस्थानमा उभ्याउने ‘ग्लोबल साउथ’को अवधारणा तथा अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकांक्षालाई मूल प्रवाहमा समाहित गर्न अपरिहार्यं भएको भन्दै दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रगतिबारे जी २० शिखर सम्मेलनमा समीक्षा हुने र लक्ष्यहरूको अक्षरसः कार्यान्वयनका लागि कार्यदिशा निर्धारण गर्ने बताए।

जी-२० ले अन्तर्राष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका दुष्प्रभाव न्यूनीकरण र दिगो विकासजस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख विषयलाई केन्द्रमा राखेको छ। अध्यक्षका रूपमा भारतले वर्षभरिमा जी-२० सँग सम्बन्धित दुई सय वटा बैठक देशका विभिन्न ६० सहरमा आयोजना गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया