

कोशी सरकार गठन प्रकरणः न्यायाधीशत्रय सपना मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडाैं — कोशी सरकार गठनविरुद्धको मुद्दा सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ । पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ ।
यसअघि आइतबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश दिएपछि आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएका थिए । यस्तै अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनाले समेत मत दिएको विषयमा समेत कार्कीले विपक्षी बनाएका छन् ।

