

कोशीमा विश्वासको मतबारे परेको रिटबारे आज पूर्ण इजलासमा अन्तिम सुनुवाई हुँदै

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतबारे परेको रिटमा सर्वोच्च अदालतमा आज अन्तिम सुनुवाइ हुँदैछ । प्रदेशसभामा उपसभामुख अनुपस्थित भएपछि सभा चलाउनाका लागि अधिकार पाएका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीको मत लिएर थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो । उक्त मुद्दाउपर आज पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।
भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता ग्रहण गरेका मन्सुरीले पनि भोट हालेका थिए ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अग्राधिकारसहित मुद्दाको पूर्ण सुनुवाइका लागि आज पेसी तोकेका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिने दिन इस्राइल मन्सुरीले र गीता तिम्सिनाले पालैपालो सभाको अध्यक्षता गरेका थिए । दुवै जनाले थापालाई विश्वासको मतसमेत दिएका थिए ।
आजबाट हुने पूर्ण सुनवाइमा एमालेका तर्फबाट टीकाराम भट्टराई शम्भु थापा, सतिसचन्द्र खरेल बलराम दाहाल लगायतका कानून व्यवसायीहरूले बहस गर्ने छन् ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेका छन् ।

