

पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु

पोखरा – पोखरामा ट्रकको ठक्करबाट तनहुँकी एक युवतीको मृत्यु भएको छ ।
ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तनहुँको म्याग्दे गाउँपालिका–४ की २० वर्षीया वर्षा कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ पृथ्वी चोकबाट सृजना चोकतर्फ जाँदै गरेको ग२२प ७९५ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०३–००१ क २६३ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।
दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

